काठमाडौं । चितवनको भरतपुर कारागारमा कैदीबन्दीहरूमा भाइरल ज्वरो फैलिएको छ।
कारागार प्रशासनका अनुसार हालसम्म करिब ५० जना कैदीबन्दी प्रभावित भएका छन् भने दैनिक ५ देखि ७ जनासम्म नयाँ बिरामी थपिँदै गएका छन्। हाल कारागारमा ७१२ जना कैदीबन्दी राखिएका छन्, जबकि यसको क्षमता ६०० जनाको मात्र हो। ५५० पुरुष र ५० महिला राख्न मिल्ने क्षमता भए पनि क्षमता भन्दा बढी कैदीबन्दी राखिएकाले अवस्था जटिल बन्दै गएको जनाइएको छ।
लक्षण देखिएका कैदीहरूलाई छुट्टै राखेर उपचार भइरहेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय र भरतपुर महानगरपालिकाको सहयोगमा औषधि व्यवस्थापन गरिएको कारागार प्रमुखले बताएका छन्। कारागार प्रशासनका अनुसार संक्रमण बढ्ने क्रम जारी रहेकाले थप सतर्कता अपनाइएको छ।

