काठमाण्डौ । चितवनको माडी नगरपालिका–९ स्थित रातोमाटे डाँडा क्षेत्रमा एक अनौठो दुर्घटना भएको छ। माडीबाट ठोरीतर्फ जाँदै गरेको मोटरसाइकल वन्यजन्तु बाघसँग ठोक्किँदा चालक घाइते भएका छन्।
घाइते हुने व्यक्ति पर्साको ठोरी गाउँपालिका–१ निवासी करिब ४० वर्षीय अजित कुँवर रहेका छन्। दुर्घटनामा उनको बायाँ पाखुरा र टाउकोमा चोट लागेको छ। उनलाई सुरुमा ठोरीको चोकबजार स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको थियो भने पछि थप उपचारका लागि वीरगञ्ज पठाइएको हो।
घटनापछि सो क्षेत्रमा वन्यजन्तु आवतजावत हुने भएकाले सवारी चालकलाई अत्यधिक सावधानी अपनाउँदै सवारी सञ्चालन गर्न तथा पैदल यात्रीलाई समेत उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

