काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई ग्रीस र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३ बस्ने, रामेछाप लिखु तामाकोशी गाउँपालिका–१ घर भएकी ३१ वर्षीया लक्ष्मी थापा कार्की र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–८ बस्ने ३५ वर्षीया प्रिया बानिया रहेका छन्।
नेपाल प्रहरीका अनुसार लक्ष्मीले ग्रीस पठाइदिन्छु भन्दै एक जना पीडितबाट ११ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएकी थिइन् भने प्रियाले जापान पठाइदिन्छु भन्दै एक जना पीडितबाट २ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी थियो।
सोही उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले लक्ष्मीलाई काठमाडौं महानगरपालिका–३ बाट र प्रियालाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–८ बाट पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

