सर्लाही । हरिवन नगरपालिका–अन्तर्गत घुर्काैलीमा बालगृह सञ्चालन गर्दै आएको गैरसरकारी संस्था चेतना सन्देश नेपालको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
बालगृह परिसरमा शनिबार आयोजित सभाले संस्थाको सामाजिक यात्रालाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। संस्थाका अध्यक्ष सुरेन्द्र लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हरिवन नगरपालिकाका प्रमुख कमल बुढाथोकी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा मधेश प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री बेची लुंगेली, हरिपुर नगरपालिकाका पूर्व नगर प्रमुख जमिरुद्धिन मन्सुर लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। प्रदेश सभा सदस्य लुंगेली संस्थाकी कोषाध्यक्ष समेत हुनुहुन्छ।
कार्यक्रम सञ्चालक जनक जिम्बाले संस्थाको आर्थिक वर्ष २०८१/०८२ को आर्थिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो। सोही अवसरमा संस्थाको गतिविधि, उपलब्धि तथा आर्थिक पारदर्शितासम्बन्धी सामाजिक लेखा परीक्षण समेत गरिएको थियो।
बालबालिकाको संरक्षण, शिक्षा र भविष्य निर्माणमा सक्रिय चेतना सन्देश नेपालले लामो समयदेखि समाजसेवामार्फत आफ्नो छुट्टै पहिचान बनाउँदै आएको छ। समाजसेवी तथा संस्थाका अध्यक्ष सुरेन्द्र लामाले सामाजिक क्षेत्रमा पुर्याउँदै आएको योगदानको कार्यक्रममा प्रशंसा गरिएको थियो।
लामा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य समेत हुनुहुन्छ। कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य अम्बिका वाईवाको पनि सहभागिता रहेको थियो।
सभामा संस्थाका पदाधिकारी, साधारण सदस्य, सहयोगी दाता, स्थानीय समाजसेवी, पत्रकार, शिक्षासेवी तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति थियो।
बालगृहका व्यवस्थापक नविन लामाका अनुसार, कार्यक्रममा वक्ताहरूले चेतना सन्देश नेपालको निरन्तर प्रगतिका लागि शुभकामना दिँदै संस्थाको अभियानमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बालबालिकाको मुस्कान र भविष्यसँग जोडिएको चेतना सन्देश नेपालको यात्रा अझ प्रभावकारी बन्दै गएको सन्देश २२औं साधारण सभाले दिएको छ।

