काठमाडौं ।
अखिल नेपाल महिला संगठनले महिला आन्दोलनको एकता, अधिकार र सहभागितालाई केन्द्रमा राख्दै राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। संगठनद्वारा आयोजित पत्रकार सम्मेलनमा महिला संगठनकी इन्चार्ज जयन्ती राई प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले महिला आन्दोलनले प्राप्त गरेका उपलब्धिहरूलाई जोगाउँदै थप अधिकारका लागि निरन्तर संघर्ष गर्नुपर्ने बताउनुभयो। उहाँले महिला अधिकार, समानुपातिक सहभागिता र आर्थिक स्वतन्त्रताको सवाल अझै पूर्ण रूपमा स्थापित हुन बाँकी रहेको उल्लेख गर्दै महिलाहरूलाई संगठित भएर अघि बढ्न आग्रह गर्नुभयो।
पत्रकार सम्मेलनमा संगठनकी संयोजक दाना शर्माले प्रेस विज्ञप्ति वाचन गर्नुभएको थियो। विज्ञप्तिमा नेपाल कम्युनिस्ट आन्दोलनभित्र भएका विभाजन र विगतका अनुभवबाट पाठ सिक्दै महिला संगठनहरूबीच एकता, समायोजन र संगठन विस्तारलाई प्राथमिकता दिइएको उल्लेख गरिएको छ।
“आर्थिक स्वतन्त्रतासहितको पूर्ण समानुपातिक सहभागिताको सुनिश्चितता” भन्ने नारासहित आयोजना हुन लागेको उक्त कार्यक्रमलाई सुरुवातमा “भेला” भनिए पनि अहिले “राष्ट्रिय भेला” को रूपमा सञ्चालन गरिने जानकारी दिइएको छ।
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड तथा सह संयोजक माधव नेपाल लगायतका नेताहरुले संबोधन हुने जानकारी गराइएको छ।
संगठनका अनुसार जेठ १५ गते साँझ ६ बजे माइतीघर मण्डलामा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिनेछ भने जेठ १६ गते बिहान ११ बजे काठमाडौंको चक्रपथस्थित अरिकल भेन्युमा राष्ट्रिय मेला सम्पन्न हुनेछ। भेलामा देशभरबाट करिब पाँच सय महिलाको सहभागिता रहने अपेक्षा गरिएको छ।
संगठनले मेलामार्फत महिला संगठनहरूबीच एकता सुदृढ गर्दै आन्दोलनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।

