“म्यासेज”
नन्दलाल खरेल
जुरुक्क उठ्छु,
पहिलो काम —
फोनको स्क्रिन उज्यालो पार्छु,
सायद तिम्रो एउटा “सन्चै छौ ?”
आएको होला भनेर।१।
चिया पाक्दै गर्दा
उम्लिरहेको पानीभन्दा बढी
मेरो मन उम्लिरहेको हुन्छ,
म्यासेज आएको आवाज सुन्न।२।
खाना पकाउँदा
नुन कम भयो कि बढी,
थाहा हुँदैन,
तर फोन कम्पन भयो कि भएन
त्यो भने मुटुले छुटाउँदैन।३।
खाने बेलामा पनि
गासभन्दा अघि
म त तिम्रो नाम खोज्छु।
मानौँ,
तिम्रो शब्दबिना
पेटले खाना पचाउनै मान्दैन।४।
पसल जाँदा,
बजार घुम्दा,
मान्छेहरूको भिडमा पनि
मेरो ध्यान
सधैं एउटा स्क्रिनमै अड्किन्छ।५।
मिटिङमा बसेको बेला
सबैले भविष्यको कुरा गर्छन्,
म भने
तिम्रो “miss you”
आउला कि भनेर
चोर आँखाले फोन हेर्छु।६।
साँझ पर्छ,
आकाश अँध्यारो हुन्छ,
तर मेरो प्रतीक्षा
अझ उज्यालो बन्छ।७।
पढ्न बस्छु,
अक्षरहरू तैरिन्छन्,
किनकि हरेक शब्दभित्र
म तिम्रै नाम देख्छु।८।
सुत्न खोज्छु,
तकिया भिज्छ,
आँखा बन्द हुन्छन्
तर औँलाहरू
अझै म्यासेज खोल्न खोजिरहन्छन्।९।
ओ म्यासेज !
तिमी कति पावरफुल रहेछौ—
एउटा “online” ले
मन हसाउँछ,
एउटा “seen” ले
रातभर रुवाउँछ।१०।
तिमीले नै सिकायौ,
प्रेम भेट्न मात्रै होइन,
पर्खिन पनि जान्नुपर्छ भनेर।११।
किनकि अहिले
मेरो दिन,
मेरो रात,
मेरो हाँसो,
मेरो रोदन—
सबै
एउटा म्यासेजमै अड्किएको छ…।१२।

