काठमाडौं । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप–२०२६ नेपाली समयअनुसार आज (बिहीबार) मध्यराति १२ः४५ बजेबाट सुरु हुँदैछ।
भव्य उद्घाटन समारोहसँगै सुरु हुने यस संस्करणको विश्वकप अघिल्ला सबै संस्करणभन्दा विशेष र ऐतिहासिक मानिएको छ।
यसपटक पहिलो पटक अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा प्रतियोगिता आयोजना गर्दै छन्।
विश्वकपमा ४८ राष्ट्रको सहभागिता रहनेछ भने प्रतियोगिताभर १०४ खेल १६ वटा विभिन्न सहरमा खेलाइनेछन्। टोली संख्या वृद्धि गरिएकाले यस संस्करणलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपका रूपमा हेरिएको छ।
जुन ११ मा मेक्सिकोबाट सुरु हुने प्रतियोगिता जुलाई १९ मा अमेरिकाको न्युयोर्कमा सम्पन्न हुनेछ। उद्घाटन समारोह पनि तीनवटै आयोजक राष्ट्रमा विशेष कार्यक्रममार्फत आयोजना गरिने बताइएको छ।
विश्व फुटबलका उत्कृष्ट राष्ट्रहरूबीच हुने प्रतिस्पर्धाले आगामी एक महिनाभन्दा बढी समय विश्वभरका खेलप्रेमीको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ।

