सुमी बजगाईं
मेरो शिरमाथिको आकाशमा पनि
ठाेक्किदैछन् बादलहरू
बेस्सरी गर्जिएर आकाश
भैसक्याे रजस्वला
निध्रुक्क भिजेकिछिन् धर्ति ।
बा फर्केकाछन् छरेर परिवर्तनकाे बियाड
आमा ओड्दैछिन् सपनाकाे छत्त्री !
जुवाकाे बरमाला भिरेका तारे-माले जोडी
हलाेकाे फाली हाेम्दैछन् सृष्टिको हिलाेमा
अलमलमा परेकाे छ-
आलीमा टुसुक्क बसेकाे काेदाली
हातमा बिउको मुठाे लिएर
कुरिरहेकाछन् राेपारेहरू
बर्षौं पहिले खेतालाे गएर
नफर्केका बाउसेहरू !
सम्झिँदैछन् केटाकेटीहरू न्वागी स्वाद
उता छिमेकी लगाएर अतिक्रमणकाे कुलाे
तासेर आली राखीसक्याे जालझेलकाे बिज
ए, लाठेहरू !
फर्क अब
पसीनाकाे सिचाइँले गलाइदेउ आफ्नै धरातल
हामी पनि बेलैमा राेपाइँ गर्नुपर्छ ।
छरेर प्रेमकाे मानु
असारको अस्तित्व जोगाउनुपर्छ
मंसिरको सह बढाउनुपर्छ ।

