काठमाडौं । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसै वर्ष स्वदेश फर्कने घोषणा गरेकी छन्। मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएपछि उनले पहिलो पटक स्वदेश फर्किने अडान सार्वजनिक गरेकी हुन्।
अठहत्तर वर्षीया हसिना विद्यार्थी नेतृत्वको आन्दोलनपछि सन् २०२४ को अगस्टमा आफ्नो १५ वर्ष लामो शासन अन्त्य गर्दै छिमेकी मुलुक भारतमा आश्रय लिन पुगेकी थिइन्। त्यसयता उनी सार्वजनिक रूपमा निकै कम देखिएकी छन्। गत जनवरीमा भने उनले नयाँदिल्लीस्थित प्रेस क्लबबाट भिडिओमार्फत सम्बोधन गरेकी थिइन्।
भारतीय टेलिभिजन एनडीटीभीसँगको अन्तर्वार्तामा हसिनाले आफ्नोविरुद्ध आएको फैसला ‘गैरकानुनी, असंवैधानिक र राजनीतिक उद्देश्यबाट प्रेरित’ भएको दाबी गरिन्। उनले मृत्युदण्डको सजायबाट आफू नडराउने पनि स्पष्ट पारिन्।
‘मेराविरुद्ध धेरै षड्यन्त्र गरिए। तर ती सबैलाई पार गर्दै म जनताको मतबाट पाँचपटक प्रधानमन्त्री निर्वाचित भएँ र देशको विकासका लागि काम गरेँ,’ हसिनाले भनिन्।
स्वदेश फर्किने योजनाबारे सोधिएको प्रश्नमा उनले दृढतापूर्वक भनिन्, ‘सबै बाधा र षड्यन्त्रलाई पार गर्दै म यसै वर्ष आफ्नो देश फर्कनेछु।’
गत नोभेम्बरमा ढाकाको एक अदालतले आन्दोलनका क्रममा हिंसा भड्काएको, हत्या गर्न आदेश दिएको तथा अत्याचार रोक्न असफल भएको ठहर गर्दै हसिनालाई उनको अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो।
यसैबीच, हसिनाको नेतृत्वमा रहेको पूर्वसत्तारुढ अवामी लिगको गतिविधिलाई पनि बङ्गलादेशमा गैरकानुनी घोषणा गरिएको छ।
उता, गत फेब्रुअरीमा बङ्गलादेशमा भएको निर्वाचनपछि प्रधानमन्त्री तारिक रहमानको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै भारत–बङ्गलादेश सम्बन्धमा केही सुधार आएको बताइए पनि शेख हसिनाको सुपुर्दगीको विषयमा दुई देशबीच मतभेद कायमै रहेको छ।
बङ्गलादेशले भारतसँग शेख हसिनालाई जिम्मा लगाउन माग गर्दै आएको छ भने भारतले यस विषयमा कुनै स्पष्ट निर्णय सार्वजनिक गरेको छैन।

