काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार बराबरको बजेट सार्वजनिक गरेको छ। महानगरको १९औँ नगर अधिवेशनमा कार्यवाहक प्रमुख सुनिता डङ्गोलले बजेट प्रस्तुत गर्दै विकास निर्माण तथा नागरिक सेवाका कार्यक्रमलाई प्राथमिकतामा राखिएको जानकारी दिइन्।
प्रस्तुत बजेटअनुसार कुल विनियोजनको ६१ प्रतिशत हिस्सा पूर्वाधार विकासका कार्यक्रमका लागि छुट्याइएको छ। महानगरले सडक, सार्वजनिक संरचना तथा सहरी पूर्वाधारको विस्तार र स्तरोन्नतिलाई आगामी वर्षको मुख्य प्राथमिकताका रूपमा अघि सारेको जनाएको छ।
त्यसैगरी सामाजिक विकास क्षेत्रका लागि कुल बजेटको ९ दशमलव ६ प्रतिशत विनियोजन गरिएको छ भने आर्थिक विकासतर्फ २ दशमलव १ प्रतिशत बजेट छुट्याइएको छ। कार्यालय सञ्चालन तथा प्रशासनिक व्यवस्थापनका लागि १८ दशमलव ८ प्रतिशत बजेट विनियोजन गरिएको कार्यवाहक प्रमुख डङ्गोलले बताइन्।
महानगरका अनुसार आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि आवश्यक स्रोतमध्ये रु २० अर्ब १८ करोड ६३ लाख २९ हजार आन्तरिक आय तथा बैंक मौज्दातबाट व्यवस्थापन गरिनेछ। बाँकी रकम सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त हुने शसर्त, समानीकरण र राजस्व बाँडफाँटअन्तर्गतको अनुदानबाट जुटाइनेछ। यस शीर्षकमा रु चार अर्ब ९३ करोड ६७ लाख २६ हजार प्राप्त हुने अनुमान गरिएको छ।
चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित रु २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार बजेटमध्ये जेठ मसान्तसम्म रु ११ अर्ब २९ करोड २९ लाख ३८ हजार खर्च भएको महानगरले जनाएको छ। पुँजीगततर्फ रु पाँच अर्ब ५२ करोड ६८ लाख १९ हजार विनियोजन गरिएकामा हालसम्म ३५ दशमलव ५९ प्रतिशत खर्च भएको विवरण प्रस्तुत गरिएको छ।
महानगरले आगामी वर्ष फोहरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीको सुधार, सुशासन अभिवृद्धि, सहरी स्वास्थ्य सेवा सुदृढीकरण तथा ‘एक वडा–एक उद्यम’ कार्यक्रममार्फत रोजगारी सिर्जना र आयवृद्धिलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ।
यसका साथै वायु प्रदूषण न्यूनीकरण, सार्वजनिक यातायात व्यवस्थापन तथा महानगरभित्र रहेका ऐतिहासिक, धार्मिक र पुरातात्त्विक सम्पदाको संरक्षणका लागि समेत आवश्यक बजेट विनियोजन गरिएको छ। मठ, मन्दिर, बहाल, पोखरी, हिटी, वहाः–वही तथा अन्य सांस्कृतिक सम्पदाको संरक्षण र मूर्त एवं अमूर्त संस्कृतिको प्रवर्द्धनलाई बजेटले विशेष महत्व दिएको महानगरले जनाएको छ।

