काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत सम्पन्न समूह ‘सी’ को खेलमा ब्राजिलले हाइटीलाई ३–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा महत्वपूर्ण तीन अंक जोडेको छ।
पाँच पटकको विश्व च्याम्पियन ब्राजिलको जितमा म्याथेस कुन्हा नायक बने। उनले दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरे भने अर्को गोल भिनिसियस जुनियरले थपे।
ब्राजिलले खेलको २३औँ मिनेटमा म्याथेस कुन्हाको गोलमार्फत अग्रता लिएको थियो। त्यसपछि उनले ३६औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गर्दै ब्राजिललाई बलियो अवस्थामा पुर्याए। पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा भिनिसियस जुनियरले गोल गरेपछि ब्राजिलले ३–० को आरामदायी अग्रता बनाएको थियो।
दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल ३–० को नतिजासहित टुंगिएको हो। हाइटीले खेलभरि प्रभावशाली प्रदर्शन गर्न नसक्दा ब्राजिलले सहज जित हात पार्न सफल भयो।
यस जितसँगै ब्राजिलले दुई खेलबाट चार अंक बटुल्दै समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ। यसअघि आफ्नो पहिलो खेलमा ब्राजिल भेनेजुएलासँग १–१ गोलको बराबरीमा रोकिएको थियो।
लगातार अंक जोड्दै ब्राजिलले प्रतियोगिताको अन्तिम ३२ मा स्थान बनाउने सम्भावनालाई थप बलियो बनाएको छ।

