काठमाण्डौ । विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन् । गिरी आज बिहान आफ्नै घरबाट पक्राउ परेका हुन् ।
शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको टोली विराटनगर–१० स्थित गिरीको घरमा खानतलासी गर्न पुगेको थियो । सोही क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
गिरी यसअघि अपहरण मुद्दामा कैद भुक्तान गरी निस्किएर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए । मोरङ प्रहरीका अनुसार गिरिलाई कारागारमा अवैध असुली धन्दा चलाएको अभियोगमा पक्राउ गरिएको हो । बिहानैदेखि प्रहरीले गिरीको घरलाई घेरा हालेर खानतलासी गरेको थियो ।
प्रहरीले गिरीको घरबाट के बरामद भयो भन्ने खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवालले शंकास्पद वस्तु राखेको आशङ्कामा प्रहरीले छापा मारेको बताउँदै थप अध्ययन भइरहेको जानकारी दिए । गिरी यसअघि पनि पटक-पटक विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै विवादमा आएका व्यक्ति हुन् । अपहरण मुद्दामा कारागारभित्र रहँदासमेत उनी पटक–पटक विवाद गरेका थिए ।
उनीमाथि कैदीबन्दीको रकम असुली र भत्ता अपचलन गरेको आरोप लागेको छ । अभिषेक गिरीले भने आफूलाई राजनीतिक प्रतिशोधका आधारमा फसाउन खोजिएको प्रतिक्रिया दिए ।

