काठमाडौँ । लामो समयपछि देशका प्रमुख कम्युनिस्ट नेताहरू एउटै मञ्चमा उभिने भएका छन्। जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित विशेष विचार गोष्ठीमा शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो।
मदन भण्डारी फाउन्डेसनले भोलि असार १४ गते काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी आयोजना गरेको छ।
कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ। गोष्ठीका प्रमुख वक्तामा नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल रहेका छन्।
यस्तै, नेकपा नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि कार्यक्रममा आफ्नो धारणा राख्नेछन्।
मदन भण्डारीको जन्मजयन्तीको अवसर पारेर आयोजित उक्त कार्यक्रममा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ समेत प्रदान गरिने फाउन्डेसनले जनाएको छ।

