काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई नेपाल प्रहरीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले शेर्पालाई शुक्रबार साँझ अनुसन्धानका लागि पक्राउ गरेको हो।
सिआइबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार हात्तीगौँडास्थित टुङ्गराम इन्टरनेशनल एकेडेमीको आठ करोड ७८ लाख ३० हजार रुपैयाँ हिनामिना गरेको आरोपमा शेर्पामाथि अनुसन्धान अघि बढाइएको छ ।
ब्युरोका अनुसार विद्यालयको कार्यकारी प्रमुखका रूपमा कार्यरत रहँदा शेर्पाले विभिन्न प्रपञ्च र प्रभाव प्रयोग गरी व्यक्तिगत लाभ लिएको तथा विद्यालयलाई आर्थिक नोक्सानी पुर्याएको आरोप छ।
अनुसन्धानका क्रममा भक्तपुरको दधिकोटमा रहेको २९ रोपनी चार आना जग्गा विद्यालयलाई अनुचित हानि पुर्याउने उद्देश्यले डर, त्रास र प्रभावमा पारेर आफ्नै स्वामित्वको कम्पनीमा बिक्री गरेको तथ्य पनि खुलेको सिआइबीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

