काठमाडौँ । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकलाई ५–० गोलअन्तरले पराजित गर्दै नकआउट चरणमा पुग्ने सम्भावनालाई जीवित राखेको छ।
टोरन्टोमा आज बिहान सम्पन्न खेलमा सेनेगलले एकपक्षीय प्रदर्शन गर्दै इराकमाथि फराकिलो जित निकालेको हो। यस जितसँगै तीन खेलबाट ३ अंक जोडेको सेनेगल तेस्रो स्थानमा रहने टोलीहरूको सूचीमा पाँचौँ स्थानमा उक्लिएको छ। यद्यपि अन्तिम ३२ (नकआउट) चरणमा स्थान सुरक्षित गर्न भने उसले अन्य समूहका खेलको नतिजा पर्खिनुपर्नेछ।
सेनेगलका लागि पापे गुएले दुई गोल गर्दा हबिब डियारा, इस्माइला सार र इलमान न्डियाएले समान एक–एक गोल गरे।
खेलको चौथो मिनेटमै हबिब डियाराले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका थिए। पहिलो हाफ १–० मा सकिएको खेलमा बाँकी चार गोल दोस्रो हाफमा सम्भव भए।
५६औँ मिनेटमा इस्माइला सारले गोल गर्दै अग्रता दोब्बर बनाए। त्यसपछि ५९औँ र ७१औँ मिनेटमा पापे गुएले लगातार दुई गोल थपे। अन्त्यतिर ८२औँ मिनेटमा इलमान न्डियाएले गोल गरेपछि सेनेगल ५–० को सहज विजेता बन्यो।
खेलको १३औँ मिनेटमा रेबिन सुलाकाले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको इराकले खेलभर कुनै गोल फर्काउन सकेन।
यो जितसँगै सेनेगल तीन खेलबाट ३ अंकसहित समूह ‘आई’ को तेस्रो स्थानमा रहेको छ। लगातार तीनै खेलमा पराजित भएको इराक भने अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।
यस समूहबाट फ्रान्स शतप्रतिशत जितसहित समूह विजेता र ६ अंक जोडेको नर्वे उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेका छन्।

