काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले आज (शनिबार) पश्चिम नेपालका केही जिल्लामा आकस्मिक बाढीको जोखिम रहने भन्दै स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार कास्की, पर्वत, म्याग्दी तथा आसपासका जिल्लाबाट बग्ने ससाना नदी र खोलाको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको छ। यसका कारण ती क्षेत्रमा आकस्मिक बाढीको न्यून जोखिम देखिएको महाशाखाले जनाएको छ।
महाशाखाले नदी तथा खोला किनारका बासिन्दा, यात्रु र सरोकारवालालाई आवश्यक सावधानी अपनाउन तथा सम्भावित जोखिमलाई ध्यानमा राख्न अनुरोध गरेको छ।
मनसुन सक्रिय बन्दै गइरहेका बेला पहाडी जिल्लाका ससाना नदी तथा खोलामा एक्कासि पानीको बहाव बढ्न सक्ने भएकाले विशेष सतर्कता आवश्यक रहेको महाशाखाको भनाइ छ।

