काठमाडौं । काठमाडौंको पेप्सिकोलास्थित एक चाउचाउ गोदाममा गएराति आगलागी भएको छ। दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार राति करिब साढे १२ बजे काठमाडौं महानगरपालिका–३२, पेप्सिकोला सूर्यमुखी चोकस्थित जस्ताको टिनले बनेको एकतले टहरामा आगलागी भएको हो।
आगलागीबाट शंखरापुर नगरपालिका–६, साँखु निवासी धिरेन्द्र रञ्जितकारले सञ्चालन गर्दै आएको ‘मा ट्रेडर्स’को गोदाम तथा धिरेन्द्र रञ्जितकार, उमेश कवाङ, रत्नदास श्रेष्ठ र ज्ञानरत्न मानन्धरसहितले सञ्चालन गरेको ‘तलेजु भवानी ट्रेड कन्सर्न प्रालि’को गोदाम पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगो निभाउन काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाका तीनवटा दमकल परिचालन गरिएको थियो।
प्रहरीका अनुसार आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी छ भने आगलागीको कारणबारे केही तथ्य खुल्न सकेको छैन ।

