काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच बृहत् राजनीतिक एकताको सहमति भएको छ। दुई पक्षबीच भएको समझदारीअनुसार एकतापछि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ भने आगामी प्रतिनिधि सभाको निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुनेछन्।
सहमतिअनुसार पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहनेछन्। पार्टीको झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो रङको घण्टी रहनेछ भने चुनाव चिह्न पनि ‘घण्टी’ नै कायम हुनेछ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने सहमतिपत्रमा उल्लेख छ।
दुई पक्षबीच भएको ७ बुँदे सहमतिपत्रमा भ्रष्टाचार र कुशासनविरुद्ध नवयुवाहरूले सञ्चालन गरेको जेनजी आन्दोलनप्रति अपनत्व जनाउँदै घाइते तथा सहिद परिवारका मागहरू यथोचित सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, गहिरा नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारमार्फत आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्य लिइएको छ।
एकतापछि पार्टी संगठनलाई थप सुदृढ र समावेशी बनाउने उद्देश्यले युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई योग्यता, समावेशिता र सार्वजनिक छविको आधारमा जिम्मेवारी दिने उल्लेख गरिएको छ। सहमतिअनुसार पार्टीसम्बन्धी सबै दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिनेछ।
सहमतिपत्रमा लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा गोलबद्ध हुन अन्य परिवर्तनकामी राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई समेत आव्हान गरिएको छ।
सहमतिपत्रमा रवि लामिछाने र बालेन्द्र शाहले संयुक्तरुपमा हस्ताक्षर गरेका छन्।

