काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राजनीतिक सहमति कुनै नेताको चाहना अनुसार होइन, देशलाई आवश्यक परेको आधारमा हुनुपर्ने बताएका छन्। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग सात बुँदे सहमति भएपछि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो प्रतिक्रिया सार्वजनिक गरेका हुन्।
लामिछाने र शाहबीच आज बिहान भएको सहमतिअनुसार दुई पक्षबीच बृहत् एकतापछि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ भने पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहनेछन्। आगामी प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने समझदारी गरिएको छ।
सहमतिपत्रमा एकतापछि स्थापित हुने दलको झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो रङको घण्टी रहने, चुनाव चिह्न ‘घण्टी’ नै कायम रहने तथा केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने उल्लेख गरिएको छ।
सात बुँदे सहमतिपत्रमार्फत् दुवै पक्षले लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा साझा अठोटका साथ अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

