काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ। आयोगका अनुसार प्रकाशित अन्तिम नामावलीमा कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता समावेश छन्।
नामावलीअनुसार ९६ लाख ६३ हजार ३५८ जना पुरुष, ९२ लाख ४० हजार १३१ जना महिला तथा २०० जना अन्य मतदाता रहेका छन्।
मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम अन्तिम मतदाता नामावली प्रकाशित गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार मतदाता नामावली ऐन, २०७३ तथा मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ मा भएको व्यवस्था अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकहरूको विवरण समावेश गरेर अन्तिम नामावली तयार गरिएको हो।
सम्बन्धित मतदाताले आफ्नो नाम मतदाता नामावलीमा छ कि छैन भन्ने जानकारी लिन आयोगको आधिकारिक वेबसाइट www.election.gov.np मार्फत समेत अन्तिम मतदाता नामावली हेर्न सक्ने व्यवस्था गरिएको आयोगले जनाएको छ।

