काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य वृद्धि गरेको हो।
बढेको मूल्य सोमबारदेखि लागू हुने निगमले जनाएको छ। आइतबार निगमले एक विज्ञप्तिमार्फर्त मूल्य बढाईएको जनाएको हो।
नयाँ दरअनुसार तेस्रो वर्गअन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १५२ रुपैयाँ कायम भएको छ।
दोस्रो वर्गअन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोल १७१ रुपैयाँ तथा डिजेल र मट्टितेल १५१ रुपैयाँ तोकिएको छ।
पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा तथा डिजेल–मट्टितेल १४९ रुपैयाँ ५० पैसा कायम गरिएको निगमले जनाएको छ।
निगमले अमेरिका–इजरायल–इरानबीचको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा देखिएको परिस्थितिले मूल्य समायोजन गर्न बाध्य भएको उल्लेख गरेको छ।
‘यस विषम परिस्थितिमा नेपाल आयल निगमले बाध्यतावश पेट्रोलियम पदार्थको मूल्य अपेक्षाभन्दा बढाउनुपरेको छ,’ निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसबाट आम उपभोक्ता र सरोकारवालामा पर्ने असरप्रति निगम सचेत र संवेदनशील छ।’


