काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्माको नाममा सहमति जुटेको छ। अध्यक्ष पदका अन्य उम्मेदवारले नाम फिर्ता लिएपछि शर्मा निर्विरोध चयन हुने भएका हुन्।
अध्यक्षका लागि शर्मासहित रोबिन शेरचन र रबिन बज्राचार्यले उम्मेदवारी दिएका थिए। तर अन्तिम समयमा अन्य उम्मेदवारले नाम फिर्ता लिएपछि शर्माको नाममा सहमति भएको हो।
निर्वाचन समितिले सबै पदको परिणाम एकैपटक सार्वजनिक गर्ने जनाएको छ। एनआरएनए निर्वाचन समितिका अनुसार आजै नयाँ कार्यसमितिको पूर्ण विवरण सार्वजनिक गरिने जनाईएको छ।
निर्वाचनभन्दा सहमतिका आधारमा कार्यसमिति चयन गर्ने प्रयास भैरहेको जनाइएको छ। शनिबारदेखि सुरु भएको एनआरएनएको १२औँ अधिवेशन आज सम्पन्न हुँदैछ।
एनआरएनए सचिवालयका अनुसार आइतबार साँझ पाँच बजे समापन समारोह आयोजना गरिएको छ। समारोह प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा हुने जनाइएको छ।

