काठमाडौँ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहेको छ भने बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ।
सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिनभर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहने तथा तराईका अधिकांश स्थानमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैगरी कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका केही स्थान तथा अन्य प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ।
तराईका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

