काठमाडौँ। इरानले अमेरिकासँग युद्धविराम वा वार्ताका लागि प्रस्ताव गरेको भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी अस्वीकार गरेको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले तेहरानले न त युद्धविराम मागेको छ न त वार्ताको प्रस्ताव गरेको भन्दै यस्तो दाबी झुटो भएको बताएका छन्।
सीबीएस न्यूजसँगको कुराकानीमा अराघचीले इरानले जारी द्वन्द्वबीच आफ्नो रक्षा जारी राख्ने बताएका छन्। “हामीले कहिल्यै युद्धविरामका लागि अनुरोध गरेका छैनौँ र वार्ताका लागि पनि माग गरेका छैनौँ,” उनले भने, “हामी जति समय लाग्छ, आफ्नो रक्षा गर्न तयार छौँ।”
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले वार्ताका लागि प्रस्ताव गरेको तर आफूले अस्वीकार गरेको दाबी गरेका थिए।
अराघचीले द्वन्द्वबारे अमेरिकी प्रशासनको भूमिकाको आलोचना गर्दै जहाजहरूलाई लक्षित गर्ने लगायतका गतिविधिलाई “राष्ट्रपति ट्रम्प र संयुक्त राज्य अमेरिकाले रोजेको युद्ध” भनेका छन्।
इरान बाँच्नकै लागि युद्ध लडिरहेको भन्ने धारणा पनि गलत भएको उनको भनाइ छ। सरकार आफ्ना जनताको रक्षा गर्न “स्थिर र बलियो” रहेको र वार्ताबिनै पनि आफ्नो रक्षा गर्न सक्षम रहेको उनले बताएका छन्।

