काठमाण्डौ । सोमबार कविता महोत्सवको ६८ औं संस्करण सम्पन्न हुँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कविता महोत्सव-०८२ सोमबार प्रज्ञा प्रतिष्ठान कमलादीमा दिउँसो १२:०५ बाट आरम्भ हुने कार्यक्रम छ ।
महोत्सवमा पच्चिस जना प्रतियोगी एवम् दस जना अतिथी कविको कविता वाचनसहित महोत्सव सम्पन्न हुने आयोजकले जनाएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानले कविता महोत्सवका लागि कविता माग गर्दै सूचना जारी गरेको थियो । मूल्यांकन समितिको मूल्यांकनका आधारमा छनौट गरिएका २५ कविताको प्रस्तुति कविता महोत्सवमा हुने जनाईएको छ ।
कवितावाचनका लागि छानिएका पच्चिस कवि
कविता वाचनका लागि अविनाश भट्टराई, ऋतेश गुरुङ, एड्सन चाम्लिङ, करुणा नेपाल,कर्ण सञ्जय, किशन पौडेल, गोमा श्रेष्ठ, खेमराज सुवेदी, गुञ्जन राई, चन्द्रमणि चापागाईं, टहल दहाल ‘नवकिरण’, तुलसी केसी, दयाराम दुवाडी आत्रेय छनौट भएका छन् ।
यसैगरी नरोत्तम श्रेष्ठ, निहाङ किराँती, भेषराज सापकोटा, भोगेन्द्र लिङ्देन, मदन माबो, मधुर भट्टराई, रमा सुवेदी (मिरमा), नवीन रेग्मी, राजेन्द्रप्रसाद भट्ट, शमुयल कोइराला विश्वकर्मा, सन्ध्या महर्जन, सिर्जन अविरलको नाम पनि कविता वाचनको लागि छनौट भएको छ ।
केही कवि, केही चर्चा-परिचर्चा
कवितावाचनका लागि छनौटमा परेका अविनाश भट्टराई विभिन्न गजल प्रतियोगिता, कविता प्रतियोगितामा पटक-पटक प्रथम पुरस्कार प्राप्त गरिसकेका कवि हुन् । कवि सिर्जन अविरल पनि प्रगतिवादी कविता सिर्जनामा चिनिएका अनुहार हुन् । उनी विचार र कलाको उचित संयोजनसहित कविता रचना गर्न सिपालु देखिन्छन् । मिरमा नाममा साहित्य सिर्जनामा रमाईरहेकी रमा सुवेदी बाह्रखरी कथामा उत्कृष्ट पच्चिस भित्र परेकी कथाकार हुन् । उनको मुख्य विधा कविता नै हो । ‘अचेल हरेक रात पहाड रुन्छ’ उनको महोत्सवमा छानिएको कविताको नामै बहुत सुन्दर प्रतीत हुन्छ । किशन पौडेल पनि निरन्तर कविता सिर्जनामा रमाईरहेका युवा हुन् ।
अर्कोतर्फ दोलखाका टहल दहाल ‘नवकिरण’ पनि पच्चिस कविको सूचिमा छन् । विश्वभाषा क्याम्पस, प्रशासनमा कार्यरत नासु दहाल निरन्तर कविता सिर्जनामा छन् । झन्डै एक दर्जन पटक वाचन गर्ने अवसरसहित मञ्चमा उभिएका दहाल लगातारको यो शृंखलामा कहिले क्रमभंग होला, प्रतिक्षामा छन् । प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कविता महोत्सवमा एक पटक पुरस्कृत भएरै छाड्ने दृढतासहित सहभागी उनको कविताको शिर्षक ‘उन्मुक्तिको गीत’ ले पनि दोहोरो अर्थ बोलिरहेको छ ।
सूचनामा दुई समय राखेर सहभागी अन्योल बनाउने काम !
नेपाल प्रज्ञा प्रतिष्ठानले महोत्सवको समय निश्चित गरि सहभागी कवि, अतिथि कवि एवम् सर्वसाधारणलाई सुचित गर्नुपर्नेमा समय फरक फरक राखेर सूचना गर्दै सहभागीलाई नै अन्योल बनाउने काम गरेको छ । वाचनका लागि छानिएका २५ कविलाई ११:३० बजे कार्यक्रम आरम्भ हुने भन्दै उपस्थित हुन सूचित गरेको प्रतिष्ठानले निमन्त्रणा-पत्रमा पनि ११:३० बजे कार्यक्रम आरम्भ हुने व्योहोरा उल्लेख गरेको छ । तर सार्वजनिक रुपमा अर्को एक सूचनामा १२:०५ बजे कार्यक्रम शुरु हुने उल्लेख छ । ३५ मिनेट समय फरक राखी सूचना निकालेर प्रतिष्ठानले समयप्रति वेवास्ता गरेको छ ।



प्रज्ञा प्रतिष्ठानले गोप्य राख्यो मूल्यांकन समिति !
नेपाल प्रज्ञा प्रतिष्ठानले प्राप्त कविताबाट मूल्यांकन समितिको छनौटका आधारमा २५ कविको छनौट गरिएको उल्लेख गर्दै कविको नाम र कविताको शिर्षक सार्वजनिक गरेको छ । तर कविता महोत्सव-०८२ का लागि कति संख्यामा कविता प्राप्त भए र ती कविता को-को संलग्न मूल्यांकन समितिले छनौट गर्यो, उल्लेख गरेको छैन । ‘सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ नारालाई नै फिक्का हुने गरि भित्रभित्र केही गडबडी भैरहेको त छैन ? प्रश्न उठाउने प्रशस्त ठाउँ प्रतिष्ठानले नै दिएको छ ।
कविता महोत्सवमा वाचनका लागि चानिएका २५ कविबाट उत्कृष्ट दस कविलाई छानी जनही रु ४० हजार नगदसहित प्रमाण-पत्रसहित पुरस्कृत गरिन्छ । नेपाली खस भाषाबाहेक अन्य भाषालाई पनि महोत्सवमा समावेश गर्ने गरिएको छ ।
प्रज्ञा प्रतिष्ठानको बार्षिक उत्सवका अवसरमा हरेक साल असार ९ गते राष्ट्रिय कविता महोत्सवको आयोजना हुने गरेको हो ।

