काठमाण्डौ । डोल्पामा बाढीले बगाउँदा एक महिलाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।
जिल्लाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा शनिबार राति आएको बाढीमा परी स्थानीय अन्दाजी ५६ वर्षीया आनन्दी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
प्रहरीका अनुसार निरन्तर वर्षापछि धुलाखोला तथा आसपासका खहरेमा आएको हिलोमिश्रित बाढी आइतबार बिहान करिब ३ बजे गाउँमा पसेको थियो। बाढीमा परेर गम्भीर घाइते भएकी आनन्दीको उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पदम रावलले जानकारी दिए।
बाढीमा परी सोही गाउँका अन्दाजी ५० वर्षीय चाउरी विक, ४४ वर्षीय रेउली विक, ४८ वर्षीय विष्णु विक, १५ वर्षीया निरुता विक, १३ वर्षीया सीता विक र ६५ वर्षीय जस विक घाइते भएका छन्।
घटनापछि प्रहरी र स्थानीयवासीले उद्धार तथा राहतको काम गरिरहेका छन्।

