काठमाण्डौ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले इतर पक्षको विस्तारित बैठक बोलाएका छन्। बैठक सोमबार दिउँसो २ बजे काठमाडौँको चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्ने जनाईएको छ।
इतर पक्षका नेताहरूका अनुसार बैठकमा कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य तथा काठमाडौँमा उपलब्ध जिल्ला सभापतिहरूलाई सहभागी हुन बोलाइएको छ।
बैठकले इतर पक्षको राष्ट्रिय भेलाको मिति र कार्यक्रम तय गर्ने जनाइएको छ। कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले चुनदेवीमा सम्पर्क कार्यालय सञ्चालन गर्दै आएको छ।
यसअघि शुक्रबार खड्का निवासमा बसेको इतर पक्षका नेताहरूको बैठकले असारभित्रै राष्ट्रिय भेला आयोजना गर्ने सहमति गरेको थियो। उक्त बैठकमा डा. शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, महालक्ष्मी उपाध्याय ‘डिना’, रमेश लेखक, डा. प्रकाशशरण महत, एनपी साउद, मीनबहादुर विश्वकर्मा, आनन्दप्रसाद ढुङ्गाना, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर र श्याम घिमिरेलगायत नेताहरू सहभागी थिए।
बैठकमा कांग्रेस सभापति गगन थापालगायत संस्थापन पक्षका नेताहरूसँग पार्टी एकताका लागि भएका छलफलबारे जानकारी गराइएको थियो। छलफलपछि संस्थापन पक्ष पार्टी एकताप्रति गम्भीर नदेखिएको निष्कर्ष निकालिएको बताइएको छ।
अब पार्टीको भावी रणनीति र अगाडि बढ्ने कार्यदिशाबारे निर्णय राष्ट्रिय भेलामार्फत गर्ने तयारीस्वरूप विस्तारित बैठक बोलाइएको नेताहरूले बताएका छन्।

