काठमाडौँ । उत्तर कोरियाले पाँच हजार टन क्षमताको नयाँ विध्वंसक युद्धपोत ‘काङ कोन’ को सफल परीक्षण गरेको छ। परीक्षणका क्रममा नेता किम जोङ उनले क्रुज मिसाइल प्रहार तथा विद्युतीय युद्ध प्रणालीको समेत प्रत्यक्ष निरीक्षण गरेका छन्।
राज्य सञ्चालित कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार शुक्रबार गरिएको परीक्षणमा युद्धपोतबाट विभिन्न हतियार प्रणालीको सफल परीक्षण गरिएको थियो। यो युद्धपोत गत वर्ष उद्घाटन समारोहका क्रममा दुर्घटनामा परेर आंशिक रूपमा क्षतिग्रस्त भएपछि मर्मत गरिएको हो।
यो परीक्षण उत्तर कोरियाले अर्को पाँच हजार टन क्षमताको विध्वंसक युद्धपोत ‘चोए ह्योन’ लाई सैन्य सेवामा समावेश गरेको दुई साताभन्दा कम समयपछि गरिएको हो। त्यस अवसरमा किमले नौसेनालाई आणविक हतियारसहित थप सशक्त बनाउने तथा १० हजार टन क्षमताका नयाँ युद्धपोत विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
केसीएनएका अनुसार परीक्षणपछि किमले ‘काङ कोन’ को सम्पूर्ण परीक्षण प्रक्रिया छिट्टै सम्पन्न गरी दुई महिनाभित्र नौसेनालाई हस्तान्तरण गर्न निर्देशन दिएका छन्।
राज्य सञ्चालित सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरमा किम समुद्री टापुको अग्लो स्थानबाट सैनिक अधिकारीहरूसँगै हतियार परीक्षण अवलोकन गरिरहेको देखिन्छ। अर्को तस्बिरमा ‘काङ कोन’ बाट समुद्रतर्फ मिसाइल प्रहार गर्दा धुवाँको मुस्लो उडिरहेको दृश्य देखिएको छ।
निरीक्षणपछि किमले देशको युद्ध प्रतिरोधी क्षमता अझ सुदृढ बनाउनुपर्नेमा जोड दिँदै उत्तर कोरियाको पूर्ण सैन्य शक्ति प्रदर्शन गर्ने प्रतिबद्धता दोहोर्याएको केसीएनएले जनाएको छ।
गत वर्ष मे महिनामा परीक्षणका क्रममा ‘काङ कोन’ पल्टिएर आंशिक रूपमा क्षतिग्रस्त भएको थियो। त्यस घटनालाई किमले ‘लापरवाही’ र ‘गैरजिम्मेवारी’ को परिणाम भन्दै दोषीमाथि कारबाही गर्न निर्देशन दिएका थिए।
सुरक्षा विश्लेषकहरूका अनुसार किमले दुई महिनाभित्र युद्धपोत नौसेनालाई बुझाउन दिएको निर्देशन आगामी सेप्टेम्बर ९ मा मनाइने उत्तर कोरियाको स्थापना दिवससँग जोडिएको हुन सक्छ।
सियोलस्थित कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनका विश्लेषक हङ मिनका अनुसार उक्त युद्धपोत सम्भवतः उत्तर कोरियाको ७८औँ स्थापना दिवसका अवसरमा औपचारिक रूपमा नौसेनालाई हस्तान्तरण गरिनेछ। उनका अनुसार प्रारम्भिक चरणमा यो युद्धपोत कोरियाली प्रायद्वीपको पूर्वी समुद्री क्षेत्रमा सञ्चालन हुने र नजिकका समुद्री क्षेत्रमा सञ्चालन क्षमता अभिवृद्धिमा केन्द्रित रहने सम्भावना छ।
सन् २०१९ मा हनोईमा उत्तर कोरियाली नेता किम जोङ उन र तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको शिखर वार्ता निष्कर्षविहीन बनेपछि उत्तर कोरियाले आफूलाई ‘अपरिवर्तनीय आणविक शक्ति’ भएको दाबी गर्दै आएको छ।
सन् १९५०–५३ को कोरियाली युद्ध शान्ति सन्धिबिना युद्धविराममा टुङ्गिएकाले उत्तर र दक्षिण कोरिया प्राविधिक रूपमा अझै युद्धकै अवस्थामा छन्। दक्षिण कोरियाली नौसेनासँग पाँच हजार टनभन्दा ठूला १० भन्दा बढी युद्धपोत रहेका छन् भने उत्तर कोरियासँग त्यस्ता दुईवटा मात्र युद्धपोत छन्।

