काठमाडौँ । ब्राजिलका स्टार फरवार्ड फुटबलर नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरेका छन्। फिफा विश्वकप २०२६ को अन्तिम १६ मा नर्वेसँग २–१ ले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि ३४ वर्षीय नेयमारले राष्ट्रिय टोलीसँगको आफ्नो यात्रा टुङ्गिएको घोषणा गरेका हुन्।
न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा आइतबार सम्पन्न खेलपछि अन्तिम सिट्टी बज्नासाथ भावुक बनेका नेयमार मैदानमै रोएका थिए। उनलाई सहकर्मी खेलाडीहरूले सम्हालेका थिए। यस हारसँगै ब्राजिल सन् १९९० यता पहिलोपटक विश्वकपको अन्तिम १६ बाटै बाहिरिएको छ।
खेलमा नर्वेका एर्लिङ हालान्डले दुई गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए। ब्राजिलका लागि नेयमारले इन्जुरी समयको नवौँ मिनेटमा पेनाल्टीमार्फत सान्त्वना गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
खेलपछि सञ्चारमाध्यमसँग कुरा गर्दै नेयमारले राष्ट्रिय टोलीसँगको आफ्नो यात्रा समाप्त भएको बताए ।
“मैले धेरै प्रयास गरेँ, आफ्नो सबैथोक दिएँ। तर अब यो यात्रा यहीँ टुङ्गिएको छ। मैले यही मैदानबाट राष्ट्रिय टोलीको यात्रा सुरु गरेको थिएँ र यहीँ आएर अन्त्य पनि भयो,” उनले भने।
नेयमारले सन् २०१० को अगस्टमा संयुक्त राज्य अमेरिकाविरुद्धको मैत्रीपूर्ण खेलमार्फत मेटलाइफ स्टेडियमबाटै ब्राजिलका लागि अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए। सोही खेलमा उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल पनि गरेका थिए।
बारम्बारको चोटका कारण पछिल्ला केही वर्ष चुनौतीपूर्ण बने पनि नेयमारले ब्राजिलका लागि ८० अन्तर्राष्ट्रिय गोल गर्दै आफ्नो यात्रा समाप्त गरेका छन्। यससँगै उनले महान् पेलेको ७७ गोलको कीर्तिमान उछिन्दै ब्राजिलको इतिहासमा सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीका रूपमा आफ्नो नाम स्थापित गरेका छन्।

