काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको छ। बैठकमा विभिन्न विधेयक र प्रस्तावमाथि छलफल तथा आवश्यक प्रक्रिया अघि बढाइने कार्यसूची तय गरिएको छ।
आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने तथा उक्त विधेयक सदनमा पेश गर्ने कार्यसूची रहेको छ।
त्यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।
यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
यसैगरी युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर–२९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सदनमा पेश गर्नेछन्।

