काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत अन्तिम १६ को खेलमा इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३–२ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।
मेक्सिकोको घरेलु मैदान अज्टेका स्टेडियममा सम्पन्न रोमाञ्चक खेलमा इंग्ल्यान्ड दोस्रो हाफको अधिकांश समय १० खेलाडीमा सीमित रहे पनि जित निकाल्न सफल भयो।
पहिलो हाफमा इंग्ल्यान्डले २–१ को अग्रता बनाएको थियो। दोस्रो हाफमा दुवै टोलीले थप एक–एक गोल गरेपछि खेल ३–२ को नतिजामा टुङ्गियो।
इंग्ल्यान्डको जितमा जुड बेलिङहमले २६औँ र ३८औँ मिनेटमा दुई गोल गरे। कप्तान ह्यारी केनले ६०औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
मेक्सिकोका लागि जुलियनले ४२औँ मिनेटमा पहिलो गोल गरे भने राउल जिमिनेजले ६९औँ मिनेटमा दोस्रो गोल फर्काएका थिए। त्यसपछि थप गोल हुन नसक्दा घरेलु टोली प्रतियोगिताबाट बाहिरियो।
खराब मौसमका कारण निर्धारित समयभन्दा करिब एक घण्टा ढिला सुरु भएको खेलमा इंग्ल्यान्डले ५५औँ मिनेटदेखि १० खेलाडीमा खेल्नुपरेको थियो। ५४औँ मिनेटमा डिफेन्डर जारेल क्वान्साहले जेसस गालार्डोमाथि गरेको फाउलका कारण रातो कार्ड पाएपछि इंग्ल्यान्ड संख्यात्मक रूपमा कमजोर बनेको थियो।
यद्यपि, बाँकी समय उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्दै इंग्ल्यान्डले अग्रता जोगायो र अन्तिम आठमा स्थान बनायो।
अब क्वाटरफाइनलमा इंग्ल्यान्डले नर्वेसँग प्रतिस्पर्धा गर्नेछ।

