काठमाण्डौं। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले विधान संशोधन गरेको छ । काठमाण्डौमा दुई दिनसम्म चलेको जसपा सङ्घीय परिषद्को बैठकले विधान संशोधन गरेको हो ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अशोक राई नेतृत्वको टिम अलग भएर २०८१ वैशाख २४ गते जसपा गठन भएको थियो ।
त्यतिबेला हतार हतार बनाइएको विधान संघीय परिषद् बैठकमार्फत केही संशोधन गरिएको पार्टी महासचिव इस्तियाक राईले बताए ।
बैठकले पार्टीको केन्द्रीय समिति तथा सङ्घीय परिषद् समेत विस्तार गरेको छ ।
पार्टीको यसअघिको विधानमा १५१ सदस्यीय कार्यसमिति थियो । अहिले त्यसमा एक सय थपेर २५१ बनाईएको छ । ४१३ सदस्यीय सङ्घीय परिषद्लाई ७०१ सदस्यीय पुर्याईएको छ । ५१ सदस्यीय प्रदेश समितिलाई ६७ सदस्यीय समिति बनाएको छ भने ३९ सदस्यीय राष्ट्रिय समितिलाई ४५ सदस्यीय बनाईएको छ ।
बैठकले विधानको अनुसूची ४ को धारा ८ लाई पनि संशोधन गरेको छ । पार्टीको लोगोमा ‘अङ्कित मुठी’ चिन्हलाई चुनाव चिन्ह जस्तै बनाउने निर्णय गरेको छ । चुनाव चिन्हको मुठी र पार्टी लोगोको मुठीलाई एकरूपता गर्ने महासचिव राईले बताए ।
संशोधित विधानलाई सङ्घीय परिषद्को अध्यक्षको संयोजकत्वमा केन्द्रीय समितिको अध्यक्ष, कार्यदलको संयोजक गरी पाँच सदस्यीय प्रमाणीकरण समितिले २१ दिनभित्र प्रमाणित गर्ने भनिएको छ ।

