काठमाडौँ । पाँच पटकको विश्व विजेता ब्राजिल फिफा विश्वकप २०२६ को अन्तिम १६ बाटै बाहिरिएको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको रोमाञ्चक खेलमा नर्वेसँग २–१ ले पराजित भएपछि ब्राजिलको उपाधि यात्रा टुङ्गिएको हो।
यस जितसँगै चौथोपटक विश्वकप खेलेको नर्वे पहिलोपटक प्रतियोगिताको क्वाटरफाइनलमा पुग्न सफल भएको छ। यता, ब्राजिल भने ३६ वर्षपछि पुनः अन्तिम १६ बाटै बाहिरिन पुगेको हो। यसअघि सन् १९९० को विश्वकपमा पनि ब्राजिलको यात्रा यही चरणमा समाप्त भएको थियो।
नर्वेको ऐतिहासिक जितमा स्ट्राइकर एर्लिङ हालान्ड नायक बने। उनले ७९औँ र ९०औँ मिनेटमा गोल गर्दै टोलीलाई अन्तिम आठमा पुर्याए। ब्राजिलका लागि इन्जुरी समयको नवौँ मिनेटमा नेयमारले पेनाल्टीमार्फत एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
क्वाटरफाइनलमा नर्वेले अब मेक्सिको र इंग्ल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
विश्वकप इतिहासमा ब्राजिल र नर्वेबीच यो पाँचौँ भेट थियो। यसअघिका चार खेलमा नर्वेले दुई जित र दुई बराबरी खेलेको थियो। यससँगै विश्वकपमा ब्राजिलविरुद्ध नर्वेको अपराजित यात्रा कायम रहेको छ। यी दुई टोलीबीचको पछिल्लो विश्वकप भेट सन् १९९८ मा भएको थियो, जहाँ नर्वेले २–१ को पुनरागमन जित दर्ता गरेको थियो।
ब्राजिलले समूह चरणमा स्कटल्यान्ड र हाइटीलाई पराजित गरेको थियो भने मोरक्कोसँग बराबरी खेलेको थियो। अन्तिम ३२ मा जापानविरुद्ध एक गोलले पछि परेको अवस्था उल्टाउँदै २–१ को जित निकालेर अन्तिम १६ मा पुगेको थियो।
यता, नर्वेका लागि यो विश्वकप विशेष बनिरहेको छ। टोलीले हालसम्म प्रतियोगितामा गरेका १२ गोलमध्ये सात गोलमा एर्लिङ हालान्डको प्रत्यक्ष योगदान रहेको छ। २५ वर्षीय हालान्डका लागि यो पहिलो विश्वकप हो, जहाँ उनले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई नयाँ इतिहास रचाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

