काठमाडौँ । वर्षायाम सुरु भएसँगै डेङ्गी सङ्क्रमणको जोखिम बढ्न थालेको भन्दै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सबैलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
महाशाखाको कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार निरन्तर वर्षा हुन थालेपछि विभिन्न स्थानमा पानी जम्ने क्रम बढेकाले डेङ्गी सार्ने लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण बनेको छ। उनले केही दिनयता परेको वर्षाले डेङ्गी सङ्क्रमण फैलिने जोखिम अझ बढाएको बताए।
उनका अनुसार आकाशबाट परेको पानी घर, आँगन, सडक तथा वरपरका खाल्डाखुल्डीमा जम्दा त्यहीँ डेङ्गी सार्ने लामखुट्टे हुर्किने भएकाले संक्रमण फैलिने सम्भावना उच्च हुन्छ। त्यसैले वर्षायामभर विशेष सतर्कता अपनाउन आवश्यक रहेको उनले बताए।
महाशाखाका अनुसार असार ९ देखि १५ गतेसम्म देशभर ६३ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ। अहिले दैनिकजसो वर्षा भइरहेकाले पानी जम्ने स्थानमा लामखुट्टेको वृद्धि तीव्र हुन सक्ने र त्यससँगै डेङ्गीका बिरामी पनि बढ्न सक्ने आकलन गरिएको छ।
डा. दाहालले डेङ्गीबाट जोगिन घर वरिपरि पानी जम्न नदिने, नियमित सरसफाइ गर्ने, पानी संकलन हुने भाँडा तथा स्थानहरू खाली राख्ने र सुत्दा झुलको प्रयोग गर्न सुझाव दिएका छन्।
उनका अनुसार नेपालमा डेङ्गी सङ्क्रमणको जोखिम विशेषगरी असारदेखि कात्तिकसम्म उच्च रहने गर्छ। डेङ्गी सार्ने ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिका लामखुट्टेले सफा र जमेको पानीमा फूल पार्ने तथा त्यसबाट विकसित भएका लामखुट्टेले मानिसलाई टोकेपछि डेङ्गी सङ्क्रमण हुने भएकाले पानी जम्न सक्ने सम्भावित स्थानको नियमित सरसफाइ गर्न महाशाखाले सबैमा आग्रह गरेको छ।

