काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले निवेदन दिने समय चार दिन थपेको छ। यसअघिको कार्यतालिका अनुसार मंसिर १ देखि आजसम्म मात्र समय खुला गरिएको थियो। तर विभिन्न पक्षबाट आएको आग्रहलाई ध्यानमा राख्दै आयोगको बुधबार बसेको बैठकले चार दिन समय थप्ने निर्णय गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
आयोगमा दर्ता भई रहेका ठूला तथा नयाँ–पुराना अधिकांश दलले निर्वाचन प्रयोजनका लागि निवेदन दिइसकेका छन्। दर्ता कायम रहेका १३२ दलमध्ये हालसम्म ८० दलले आगामी प्रतिनिधिसभा चुनावमा भाग लिन निवेदन दर्ता गराइसकेका छन्।
प्रत्यक्ष तर्फका उम्मेदवारको मनोनयन आगामी माघ ६ गते गर्ने कार्यतालिका तय गरिएको छ। प्रतिनिधिसभा निर्वाचन मिति आउन अब ९९ दिन बाँकी छ।
यसैगरी निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पनि समानान्तर रूपमा अघि बढाइरहेको छ।

