काठमाडौं, २३ भदौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज जेन–जी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा भएको घटनाप्रति दुःख प्रकट गर्दै आफू मर्माहत भएको बताएका छन्। उनले घटनाका कारण ज्यान गुमाएकाहरूको परिवारलाई उचित राहत र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेका छन्।
प्रधानमन्त्री ओलीले घटनाबारे १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति गठन गर्ने जानकारी दिँदै आगामी दिनमा यस्ता दुर्घटनाबाट जोगिन आवश्यक सिफारिसहरू गर्ने विश्वास दिलाए।
उनका अनुसार जेन–जीले शान्तिपूर्ण माग राख्ने विश्वास भए पनि प्रदर्शनमा विभिन्न स्वार्थी समूहहरूको घुसपैठका कारण तोडफोड र आगजनी भएका घटनाले अप्रिय परिस्थिति निम्त्याएको छ। “जेन–जीका मागलाई सरकारले सुन्दै आएको थियो, तर संवैधानिक निकायका संरचनामा क्षति पुर्याउने गतिविधिका कारण दुःखद परिणाम भोग्नु परेको हो,” उनले भने।
प्रधानमन्त्री ओलीले प्रदर्शनका आयोजकहरूले आफैं प्रदर्शनलाई सफल घोषित गरेर घर फर्कन आह्वान गरेपछि घुसपैठियाहरू सक्रिय बनेको उल्लेख गरे।
सामाजिक सञ्जाल बन्दबारे उठेका प्रश्नमा प्रधानमन्त्रीले सरकारले त्यसलाई बन्द गर्ने नीति नलिएको स्पष्ट पारे। उनका अनुसार विगत एक वर्षदेखि नै सामाजिक सञ्जाललाई व्यवस्थित गर्न कम्पनीहरूको दर्ता र सूचिकरणका लागि आग्रह गरिएको थियो। सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नका लागि अस्थायी रुपमा बन्द गरिएको उनले बताए।
“सामाजिक सञ्जाल प्रयोगलाई रोक्ने पक्षमा सरकार छैन, बरु यसको सुरक्षित र व्यवस्थित प्रयोग सुनिश्चित गर्ने पक्षमा छ,” प्रधानमन्त्री ओलीले भने।

