रामेछाप
पत्रकारिता, राजनीति र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका मोहन कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रामेछाप जिल्ला उपसभापतिमा चयन भएका छन्।
रामेछापको साविक ठोसे गाविस–८, डाँडागाउँमा २०४० साल असोजमा जन्मिएका कार्की मध्यमवर्गीय परिवारबाट आएका हुन्। उनका पिता मानबहादुर कार्की नेपाली कांग्रेसका वडा सदस्य थिए भने आमा देवकुमारी कार्की हुन्। सानैदेखि हक्की, मेहनती र सामाजिक कार्यमा रुचि राख्ने स्वभावका कार्की अन्याय–अत्याचारविरुद्ध उभिने व्यक्तित्वका रूपमा चिनिन्छन्।
विकट भौगोलिक क्षेत्रबाट आएका कार्की २०५६ सालमा काठमाडौं आएपछि पत्रिका बेच्ने हक्करको रूपमा काम गर्दै आफ्नो अध्ययनलाई निरन्तरता दिएका थिए। उनले आफ्नै कमाइबाट अध्ययन खर्च जुटाउँदै नन्दी रात्रि माविबाट एसएलसी उत्तीर्ण गरेका हुन्। त्यसपछि पशुपति क्याम्पसबाट मास कम्युनिकेशन एण्ड जर्नालिज्ममा उच्च शिक्षा हासिल गरेका छन्।
पत्रकारितामा हक्करदेखि प्रधान सम्पादकसम्मको यात्रा तय गरेका कार्कीले लामो समय यस क्षेत्रमा योगदान दिएका छन्। साथै, उनी सानैदेखि वामपन्थी आन्दोलनमा सक्रिय रहँदै आएका थिए। अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका कार्कीले प्रगतिशील पत्रिका विक्रेता संघको सचिव, प्रगतिशील मजदुर संगठनको महासचिवलगायतका जिम्मेवारी सम्हालेका थिए।
त्यसैगरी, उनले नेकपा (माले)को केन्द्रीय सदस्य, युवा संघको उपाध्यक्ष तथा रामेछाप–दोलखा ब्यूरो इन्चार्जको रूपमा काम गरेका थिए। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (माले)बाट उम्मेदवार बनेका कार्कीले ३,२८५ मत ल्याउँदै तेस्रो स्थान हासिल गरेका थिए भने २०७९ सालको निर्वाचनमा ८५८ मत प्राप्त गरेका थिए।
२०८२ साल मंसिर ११ गतेदेखि वामपन्थी राजनीति छोड्दै उनी प्रजातान्त्रिक विचारधारामा आधारित रास्वपामा आबद्ध भई हाल जिल्ला उपसभापतिको जिम्मेवारी सम्हालिरहेका छन्।
रास्वपा रामेछापको संगठन विस्तारमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। गुन्देलदेखि गौश्वारासम्मका ६४ वटै वडामा स्थानीयलाई पार्टीमा आवद्ध गराउन उनले सक्रिय भूमिका खेलेका छन्।
कार्कीको योगदान राजनीतिक क्षेत्रमा मात्र सीमित छैन। उनी लेखक, कवि तथा गीतकारका रूपमा पनि परिचित छन्। उनले ‘माइली’ उपन्यास तथा ‘कृषि–पर्यटन–जलविद्युत: देश विकासको आधार’ शीर्षकमा पुस्तक प्रकाशन गरेका छन्। साथै, उनका स्वदेशी भावनाले ओतप्रोत गीतहरू जनआकाश टिभी युट्युबमार्फत सार्वजनिक भइसकेका छन्।
नेपालका झण्डै ४० भन्दा बढी जिल्ला भ्रमण गरिसकेका कार्कीले छिमेकी राष्ट्र भारतको समेत अवलोकन गरेका छन्। स्थानीय तहका ऐन–कानुनमा राम्रो पकड भएका उनी अवसर पाएमा प्रभावकारी नेतृत्व गर्न सक्ने व्यक्तित्वका रूपमा हेरिन्छन्।

