काठमाडौं । देशभर अहिले पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। यस प्रभावका कारण विभिन्न भू–भागमा बदली, वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी र हिमाली क्षेत्रमा साधारणतया बदली छ भने तराईका अधिकांश भू–भागमा मौसम मुख्यतः सफा रहेको छ। यद्यपि, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा तथा कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपात भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो हिमाली क्षेत्रमा व्यापक बदली रहनेछ भने पहाडी भू–भागमा साधारणतया र तराईमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने जनाइएको छ।
आज राति पनि हिमाली क्षेत्रमा व्यापक बदली रहनेछ भने कोशी र मधेश प्रदेशसहित पहाडी भू–भागमा साधारणतया बदली तथा तराईमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसमको यस अवस्थालाई ध्यानमा राख्दै महाशाखाले विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित वर्षा, हिमपात र हुरीबाट सतर्क रहन आग्रह गरेको छ।
साथै, पछिल्लो मौसमसम्बन्धी जानकारी नियमित रूपमा लिन पनि सर्वसाधारण तथा सम्बन्धित निकायलाई अनुरोध गरिएको छ।

