काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विदेशमा बसोबास गर्ने नेपाली मूलका नागरिकलाई मातृभूमिसँग जोड्न पार्टीले सक्रिय पहल गर्ने बताएका छन्।
एशोसियसन अफ नेपाली ओरिजिन (ANO) का अध्यक्ष डिल्ली अधिकारी, उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, महासचिव चूडामणि भट्टराई तथा बोर्ड अफ ट्रष्टी ओमराज गुरुङ सहितको प्रतिनिधिमण्डलसँगको बिहिबारको भेटमा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
सभापति थापाले नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणापत्रमै नेपाली मूलका नागरिकलाई समेट्ने प्रयास गरेको उल्लेख गर्दै उनीहरूलाई देशसँग जोड्ने नीति अघि बढाइने बताए।
भेटका क्रममा एएनओका अध्यक्ष डिल्ली अधिकारीले नेपालले विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रवासी नेपालीबाट लगानी भित्र्याउनुपर्नेमा जोड दिए। उनले त्यसका लागि नेपाली मूल मैत्री कानुन निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै कांग्रेसको ध्यानाकर्षण गराए।
त्यसैगरी, एएनओले विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्वका कारण त्यहाँ रहेका नेपाली मूलका नागरिकको सुरक्षा र उद्धारका लागि पहल गर्न पनि कांग्रेसलाई आग्रह गरेको जनाएको छ।

