काठमाडौं — नेपाली कम्युनिस्ट पार्टीका काठमाडौं क्षेत्र नम्बर ७ का उम्मेदवार वसन्त मानन्धर यतिबेला घरदैलो अभियानमा सक्रिय रूपमा जुटेका छन्। राजनीतिक स्वार्थको छायाँमा पछाडि पारिएका समुदायहरूको अधिकार र सम्मान सुनिश्चित गर्ने प्रतिबद्धतासहित उनी मतदाताको घरदैलोमा पुगिरहेका छन्।
घरदैलो भेटघाटका क्रममा मानन्धरले समावेशी र न्यायपूर्ण समाज निर्माण आफ्नो मुख्य एजेन्डा रहेको स्पष्ट पारे। शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा समान पहुँच सुनिश्चित गर्न ठोस कार्ययोजना ल्याउने उनको प्रतिबद्धता छ। “राजनीति सीमित वर्गको हितका लागि होइन, सबै नागरिकको समान अवसर र अधिकारका लागि हुनुपर्छ,” उनले मतदातासँग संवाद गर्दै भने।
स्थानीय बासिन्दाले क्षेत्रका सडक, खानेपानी, फोहोर व्यवस्थापन, बेरोजगारी तथा युवापलायनजस्ता समस्याहरू उठाएका थिए। उम्मेदवार मानन्धरले यी समस्याहरू समाधान गर्न स्थानीय तहसँग समन्वय गर्दै संघीय स्तरसम्म पहल गर्ने आश्वासन दिए।
मानन्धरले वर्षौंदेखि उपेक्षित समुदायलाई राज्यको मूलधारमा ल्याउन निरन्तर संघर्ष गर्ने अठोट व्यक्त गर्दै मतदातासँग सहयोग र समर्थनको अपिल गरेका छन्।
घरदैलो कार्यक्रम आगामी दिनहरूमा समेत निरन्तर जारी रहने जनाइएको छ।

