काठमाडौं । नेपाली कांग्रेसकी प्रभावशाली केन्द्रीय सदस्य तथा अध्ययनशील नेतृ डा. डिला संग्रौला पन्त यतिबेला मधेश केन्द्रित राजनीतिक यात्रामा सक्रिय छिन् । भदौ २३–२४ को जेनजी आन्दोलनपछि बनेको सरकारले फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा गरेसँगै देशमा निर्वाचनको वातावरण बन्दै गएको छ । यसैबीच नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले पुस २६–२८ मा हुने पार्टीको १५ औँ महाधिवेशनको मिति पनि तय गरेको छ ।
नेपाल महिला संघको सफल नेतृत्व गरिसकेकी डा. संग्रौला पन्त हाल पार्टीको केन्द्रीय सदस्यका रूपमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएकी नेतृ हुन् । पछिल्लो समय १५ औँ महाधिवेशन निर्धारित मितिमै हुनुपर्ने अडान लिँदै उनीसहित २८ जना केन्द्रीय सदस्यले पार्टी कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए । पार्टीले महाधिवेशनको मिति टुंग्याएपछि उनले आफ्ना राजनीतिक गतिविधिलाई मधेश केन्द्रित बनाएकी हुन् ।
आगामी महाधिवेशनमा पदाधिकारीमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेकी डा. संग्रौलाले सप्तरी, सिराहा, महोत्तरी, सर्लाही र धनुषा जिल्लाको भ्रमण पूरा गरिसकेकी छिन् । बाँकी मधेशका जिल्लाको भ्रमण पनि सोमबारसम्म सम्पन्न गर्ने जानकारी उनले दिइन् । मधेश नेपाली कांग्रेसको ऐतिहासिक आधारभूमि भएकाले आफूले यो यात्रा थालेको उनको भनाइ छ ।
“जिल्ला–जिल्लामा साथीहरूसँग छलफल गरेर कांग्रेसलाई कसरी रूपान्तरण गर्ने भन्ने विषयमा गहिरो संवाद गरिरहेकी छु,” उनले भनिन् ।
उनको स्पष्ट धारणा छ— “मधेश नजागी कांग्रेस ब्युँझदैन र कांग्रेस नब्युँझी लोकतन्त्र सुरक्षित हुँदैन।”
पछिल्लो समय मधेशमा उदाएका नयाँ शक्ति र क्षेत्रीय दलहरूको प्रभावका कारण कांग्रेस संगठनमा देखिएको सुस्ततालाई तोड्नु अहिलेको मुख्य आवश्यकता भएको डा. संग्रौलाको निष्कर्ष छ । कांग्रेसले मधेशलाई केवल ‘भोट बैंक’ का रूपमा होइन, ‘विचारको केन्द्र’ का रूपमा बुझ्नुपर्नेमा उनले जोड दिइन् ।
१५ औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्रको गुटबन्दी र आन्तरिक वैमनस्यताको अन्त्य गर्दै ‘नीति र विचारको कांग्रेस’ निर्माण गर्नुपर्ने उनको धारणा छ ।
“यो महाधिवेशन केवल नेतृत्व परिवर्तनको प्रक्रिया मात्र होइन,” उनले भनिन्, “कांग्रेसलाई २१ औँ शताब्दीको गति, प्रविधि र जनचाहनासँग जोड्ने ऐतिहासिक अवसर हो । त्यसैले पदभन्दा ठूलो कुरा जनताको विश्वास जित्ने संगठन निर्माण हो।”
उनले पार्टीभित्र व्याप्त परिवारवाद र चाकरी प्रथाको अन्त्य गर्दै क्रियाशील सदस्यता वितरण प्रक्रियालाई पारदर्शी बनाउन सबै तहका नेता–कार्यकर्ताले खबरदारी गर्नुपर्नेमा जोड दिइन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन कांग्रेसका लागि प्रतिष्ठाको लडाइँ भएको उल्लेख गर्दै उनले सुझबुझपूर्ण र जिम्मेवार नेतृत्वको आवश्यकता औँल्याइन् ।
डा. संग्रौलाको मधेश भ्रमण राजनीतिक भाषणमा मात्र सीमित छैन । उनले मधेशको सांस्कृतिक र आर्थिक यथार्थलाई पनि नजिकबाट बुझ्ने प्रयास गरिरहेकी छिन् ।
“मधेश आर्थिक समृद्धिको ढोका हो, तर यहाँका किसान मल र बीउको अभावमा सधैं छट्पटिनु दुःखद् अवस्था हो,” उनले भनिन् ।
संघीयताको सफल कार्यान्वयनका लागि प्रदेश सरकारलाई थप अधिकार सम्पन्न बनाउनुपर्ने र स्थानीय तहमा सुशासन कायम गर्नुपर्नेमा पनि उनले जोड दिइन् । साथै दलित, मुस्लिम, मधेशी तथा पिछडिएको वर्गको समावेशी प्रतिनिधित्वबिनाको कांग्रेस अधूरो हुने उनको तर्क छ ।
मधेशको मनोविज्ञान बुझ्दै संगठन सुदृढीकरणमा जुटेकी डा. डिला संग्रौलाको सक्रियता आगामी महाधिवेशन र निर्वाचन दुवैका दृष्टिले कांग्रेसभित्र अर्थपूर्ण रूपमा हेरिन थालेको छ ।

