काठमाडौँ। आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले नवलपरासी–१ बाट अरबपति विनोद चौधरीको नाम एकल रूपमा सिफारिस गरेको छ।
कांग्रेस केन्द्रको परिपत्रअनुसार क्षेत्रीय कार्यसमिति हुँदै जिल्ला र लुम्बिनी प्रदेश कार्यसमितिबाट चौधरीको नाम फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा उम्मेदवारका रूपमा केन्द्रमा पठाइएको हो।
कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले जिल्लाहरूबाट प्राप्त सिफारिस आवश्यक सुझावसहित केन्द्रमा पठाउने निर्णय गरे पनि नवलपरासी–१ को हकमा भने चौधरीको एकल नाम मात्रै सिफारिस गरिएको प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए।
उनका अनुसार जिल्लाबाट चौधरीसँगै अर्का नेता विक्रम खनालको नाम पनि प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ सिफारिस भएको थियो। तर पार्टीको केन्द्रीय अनुशासन समितिबाट साधारण सदस्य नै नरहने गरी कारवाही परेकाले खनालको नाम केन्द्रमा नपठाइएको हो।
खनाल कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिका महामन्त्रीसमेत थिए। कारवाहीसँगै उनको पार्टी जिम्मेवारीसमेत खोसिएको थियो।
प्रदेश कार्यसमितिको निर्णयमा भनिएको छ, ‘नेपाली कांग्रेस जिल्ला क्षेत्र नं. १ बाट प्राप्त सिफारिसमा पार्टीको केन्द्रीय अनुशासन समितिबाट कारवाहीमा परेका व्यक्तिको नाम समावेश भएकाले सिफारिस गर्न नमिल्ने अवस्था सिर्जना भएको हुँदा उक्त नाम केन्द्रमा पठाइएको छैन।’
नवलपरासी–१ बाट विनोद चौधरी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्ष निर्वाचित भएका थिए।

