काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले आयोजना गरेको ट्रफी टूर भव्य रूपमा सम्पन्न भएको छ। दुई दिनसम्म चलेको टूरमा हजारौँ क्रिकेटप्रेमी सहभागी भएका थिए।
पहिलो दिनको ट्रफी यात्रा टिकापुरको खड्का चोकबाट सुरु भई चिसापानी पुल, लम्की चोक, घोडाघोडी ताल, दोधारा–चाँदनी पुल हुँदै महेन्द्रनगरमा सम्पन्न भएको थियो।
दोस्रो दिन बिहान धनगढीस्थित सिद्धार्थ बैंकबाट सुरु गरिएको ट्रफी टूर चौराहा चोक, कभर्डहल हुँदै अत्तरिया चोकमा पुगेर सम्पन्न भएको हो।

शुक्रबार धनगढीमा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले ट्रफी अनावरण गरेका थिए। सो अवसरमा टोलीका मुख्य प्रशिक्षक जगत टमटा, ब्रान्ड एम्बासडर दिपक विष्ट, र खेलाडीहरू नरेन साउद, इशान पाण्डे तथा विनोद भण्डारी पनि उपस्थित थिए।
ट्रफी टूरका क्रममा कलाकार चक्र भाम र डीएनयक्सले टोलीको अफिसियल एन्थम र फ्यान एन्थम प्रस्तुत गर्दै माहोल उत्साहपूर्ण बनाएका थिए।
सुदूरपश्चिम रोयल्सको टोलीमा दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन रहेका छन्।
टोलीका मुख्य प्रशिक्षक जगत टमटा हुन्।

