काठमाडौं । रुसले युक्रेनमाथि हवाई, स्थल र समुद्री मार्गबाट ठूलो सैन्य आक्रमण गरेको छ। भीषण आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
रुसी सेनाले शनिबार रातभर ५०३ मिसाइल प्रक्षेपण गरेको युक्रेनी वायुसेनाले जनाएको छ। तीमध्ये ४५ मिसाइल र ४५८ ड्रोन समावेश थिए। युक्रेनले ४०६ ड्रोन खसाल्न सफल भएको दाबी गरेको छ, तर अधिकांश मिसाइलहरू प्रतिरक्षालाई छल्दै लक्षित स्थानमा पुगेका थिए। जम्मा नौवटा मात्र सफलतापूर्वक रोकिएको बताइएको छ।
आक्रमण विशेषगरी ग्यास र विद्युत् पूर्वाधारमा केन्द्रित थियो, जसका कारण युक्रेनका धेरै क्षेत्रमा बिजुली आपूर्ति अवरुद्ध भएको छ। जापोरिझिया क्षेत्रमा आवासीय भवनसहितका स्थानमा आक्रमण हुँदा तीन जनाको मृत्यु र छ जना घाइते भएका छन् भने डोनेट्स्कका दुई जिल्लामा थप दुई जनाले ज्यान गुमाएका छन्।
करिब चार वर्षदेखि जारी युद्ध अन्त्यका लागि भइरहेको कूटनीतिक प्रयास कमजोर बन्दै गएका बेला यो आक्रमण भएको अलजजिराले जनाएको छ।
युक्रेनमा कठोर जाडो सुरु हुनुअघि रुसको यो आक्रमणलाई युद्धको अर्को रणनीतिक चरणको रूपमा विश्लेषण गरिएको छ।

