कास्की । अनलाइन ठगीका घटना तीव्र रूपमा बढ्दै गएपछि कास्की जिल्ला प्रहरी कार्यालयले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ।
प्रहरीले सार्वजनिक सूचना जारी गर्दै अनलाइनबाट सामान खरिद गर्दा सामान प्राप्त भएपछि मात्र भुक्तानी गर्न, भरपर्दा विक्रेतासँग मात्र कारोबार गर्न र अस्वाभाविक रूपमा सस्तो मूल्यमा उपलब्ध वस्तु चोरीका हुन सक्ने भएकाले सतर्क रहन अनुरोध गरेको हो।
प्रहरीका अनुसार ठग समूहहरूले “सस्तो सामान” देखाई अग्रिम रकम भुक्तानी गर्न लगाउने, त्यसपछि पैसा आएको छैन भनी ‘स्क्रिन सेयर’ गर्न आग्रह गरेर ओटीपी लिई बैंक खाता ह्याक गर्ने जस्ता घटनाहरू बढिरहेका छन्।
त्यसैले कसैलाई पनि आफ्नो मोबाइल वा कम्प्युटरको स्क्रिन सेयर नगर्न आग्रह गरिएको छ।
साथै, साथीभाइ वा आफन्तको नाममा सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग मागेमा पहिले प्रत्यक्ष सम्पर्क गरेर यकिन गर्न पनि प्रहरीको सल्लाह छ।
“विदेशबाट उपहार पठाएको भन्दै ठगी गर्ने, रोजगारीको लोभ देखाई लगानी गराउनेजस्ता घटनाबाट सचेत रहनुपर्छ,” प्रहरीको सूचनामा भनिएको छ।
प्रहरीले वैदेशिक रोजगारीमा जानेहरूले भरपर्दो माध्यम रोज्न, रकम भुक्तानी गर्दा कारण खुलाएर बैंकमार्फत मात्र कारोबार गर्न, सामाजिक सञ्जाल र बैंकिङ एपमा कठिन पासवर्ड राख्न, अपरिचितसँग साथी नबन्न, व्यक्तिगत विवरण सार्वजनिक नगर्न र अपरिचित लिङ्क नखोल्न अनुरोध गरेको छ।

