वीरगञ्ज (पर्सा) । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व चुहावट नियन्त्रणका लागि सबै सरोकार भएका निकायबीच सहकार्य र समन्वय आवश्यक भएको बताएका छन्।
वीरगञ्ज भन्सार कार्यालयमा शनिबार बसेको राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकमा उनले चोरी–तस्करी नियन्त्रणका लागि संयुक्त प्रयासमा जोड दिए।
“दैनिक गुजारा चलाउनका लागि सामान ल्याउने र तस्करी गर्नेबीच स्पष्ट भेद गर्नुपर्छ,” मन्त्री खनालले भने, “झोलेपोके तस्करीलाई बाटोमै समात्ने होइन, जहाँ पुग्छ, त्यहीँबाट नियन्त्रण लिनुपर्छ।”
खनालले राजस्व चुहावट नियन्त्रण अर्थमन्त्रालयको मात्र जिम्मेवारी नभई राज्यका सबै निकायको साझा दायित्व भएको उल्लेख गर्दै एकआपसमा प्रतिस्पर्धा होइन, हातेमालो गर्नुपर्ने बताए। “सबै निकाय एउटै प्रणालीका हिस्सा हौँ, प्रतिस्पर्धी होइनौँ,” उनले भने, “संयुक्त रूपमा कमजोरी सच्याएर राजस्व सुरक्षण गर्न निर्देशन दिन्छु।”
उनले तीनवटै सुरक्षा निकाय, स्थानीय प्रशासन र भन्सारबीच सूचनाको आदानप्रदान र सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। “बरामद लक्ष्य बढाउने प्रतिस्पर्धा राम्रो होइन,” उनले चेतावनी दिए, “मुख्य कुरा प्रभावकारी नियन्त्रण हो।”
खनालले सीमावर्ती र भन्सार कार्यालयका कर्मचारीलाई सेवाग्राहीप्रति सभ्य र सह्रदय व्यवहार गर्न निर्देशन दिए। “हामी सेवाग्राहीका लागि खटिएका हौँ, उनीहरूको भावना बुझेर काम गर्नुपर्छ,” उनले भने।
अर्थमन्त्रालयका महाशाखा प्रमुख उत्तरकुमार खत्रीले अहिले चोरी–तस्करी नियन्त्रणका लागि उपयुक्त समय रहेको बताए। “राजनीतिक दबाब नभएकाले निष्पक्ष रूपमा काम गर्न सकिन्छ,” उनले भने।
राजस्व अनुसन्धान विभागका महानिर्देशक तीर्थराज चिलुवालले सीमा क्षेत्रमा हुने तस्करी रोक्न सबै निकायसँग सहकार्यको आग्रह गरे। भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले पनि संयुक्त प्रयासबिना राजश्व चुहावट नियन्त्रण सम्भव नहुने बताए।
त्यस क्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सबै निकायबीच समन्वय गरी योजनाबद्ध रूपमा राजस्व चुहावट नियन्त्रणमा लाग्ने प्रतिबद्धता जनाए।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कार्यालयले लक्ष्यको ८९ प्रतिशत राजस्व संकलन गरेको छ। गत वर्षको सोही अवधिको तुलनामा राजस्व संकलन १२.३४ प्रतिशतले वृद्धि भएको उनले जानकारी दिए।

