प्रा. शत्रुघन श्रेष्ठ
बीमा क्षेत्र आधुनिक अर्थतन्त्रको एक महत्वपूर्ण आधार हो, जसले व्यक्ति, संस्था र समाजलाई आर्थिक सुरक्षा प्रदान गर्छ। अनिश्चितता र जोखिमले भरिएको जीवनमा बीमाले आर्थिक क्षतिको भार घटाउने काम गर्छ। आगलागी, दुर्घटना, मृत्यु, रोग, प्राकृतिक विपत्ति वा अन्य आकस्मिक घटनाबाट हुने नोक्सानीलाई बीमाले पूर्ति गर्न सहयोग पुर्याउँछ। यसले व्यक्तिगत तथा व्यावसायिक सुरक्षासँगै राष्ट्रको समग्र आर्थिक स्थायित्वमा पनि योगदान पुर्याउँछ।
नेपालमा बीमा क्षेत्र क्रमशः विस्तार हुँदै गएको छ। जीवन बीमा, गैर–जीवन बीमा र पुनर्बीमाजस्ता सेवाहरूले जनताको बीचमा विश्वसनीयता कमाउँदै ल्याएका छन्। बीमाको अवधारणा केवल सुरक्षासम्म सीमित नभई लगानी र पूँजी परिचालनको माध्यमका रूपमा पनि विकसित हुँदैछ। यसले आन्तरिक पूँजी संकलन, रोजगारी सृजना र सामाजिक सुरक्षामा टेवा पुर्याइरहेको छ। त्यसैले बीमा क्षेत्रलाई आर्थिक विकास र सामाजिक स्थायित्वको मेरुदण्डका रूपमा लिइन्छ।
१. बीमा ऐन, २०७९ जारी भई नयाँ कानूनी व्यवस्थाहरु लागू भए पनि नयाँ बीमा नियमावली नआउँदा बीमा ऐनको प्रभावकारी कार्यान्वयन गर्न नसकिएकोले नेपाल सरकारबाट बीमा नियमावली स्वीकृत गरि लागू गर्ने, मन्त्रिपरिषदको ०८१ माघ २८ गते बसेको बैठकले बीमा नियमावली २०८१ स्वीकृत गरिसकेको छ ।
२. प्राधिकरणको नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउन जोखिममा आधारित सुपरिवेक्षण तथा जोखिममा आधारित पूँजी लगायतका नविनतम अभ्यासलाई प्रभावकारी रुपमा लागू गर्नुपर्ने ।
३. बीमा क्षेत्रका समस्यालाई निराकरण गरी यसलाई थप भरपर्दो र विश्वासिलो बनाउन, दाबी भुक्तानीलाई छिटो छरिटो बनाउँदै लैजाने ।
४. बीमा ऐनको प्रावधान बमोजिम बीमाको पहुँच आर्थिक रुपले बिपन्न वर्गका नागरिकसम्म पुर्याई बीमाका माध्यमबाट नागरिकको हित संरक्षण गर्नका लागि बीमा बिकास कोष स्थापना गर्दै जाने ।
५. बीमा ऐनको प्रावधान बमोजिम बीमितको हित संरक्षण गर्नका लागि बिमित हित संरक्षण कोष स्थापना गर्ने ।
६. सरकारी सम्पत्ति, सम्पदा तथा सार्वजनिक पूर्वाधारको बीमा गरी विभिन्न जोखिमबाट हुन सक्ने आर्थिक क्षतिको रक्षावरण गर्ने ।
७. विभिन्न जोखिमबाट आम नागरिकको जिउ, धन तथा सम्पत्तिमा हुन सक्ने आर्थिक क्षतिको रक्षावरण गर्नका लागि अनिवार्य बीमाको व्यवस्था गर्नु पर्ने ।
८. बीमा क्षेत्रमा दक्ष जनशक्तिको विकास गर्नका लागि स्थापना गरिएको इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालको क्षमता विकास गर्ने ।
९. बीमा सम्बन्धि सूचनाको भण्डारण तथा व्यवस्थापन गर्नका लागि बीमा सूचना केन्द्र स्थापना गर्ने ।
१०. बीमालाई आम कृषकको पहुँचमा पुर्याउन तथा बीमाको माध्यमबाट कृषि क्षेत्रमा रहेको जोखिमबाट हुने क्षतिलाई रक्षावरण गर्न कृषि बीमालाई थप विकसित तथा प्रभावकारी बनाउनुका साथै नेपाल सरकारबाट प्राप्त हुने कृषि बीमाको अनुदानलाई व्यवस्थित बनाउनु पर्ने ।
११. जलवायु तथा वातवरणीय जोखिमबाट हुन सक्ने आर्थिक क्षतिलाई बीमाको माध्यमबाट रक्षावरण गर्नका लागि नीतिगत व्यवस्था गर्नु पर्ने ।

