काठमाण्डौ। विपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ को लास्कोट–घुमाउने खण्डमा वर्षाका कारण रोकिएका ८९ यात्रुलाई सुरक्षाकर्मीको संयुक्त टोलीले रातारात सकुशल उद्धार गरेको छ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पाँच माइक्रोबसमा सवार यात्रुलाई सुरक्षित रूपमा उद्धार गरी गन्तव्यतर्फ पठाएको हो। सोमबारको वर्षापछि रोशी खोलामा पानीको बहाव ह्वात्तै बढेपछि काठमाडौँतर्फ आउँदै गरेका ती सवारीसाधन बीच बाटोमै रोकिएका थिए।
काभ्रे प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहका अनुसार सुरक्षा निकायको तदारुकता, समन्वय र अथक प्रयासका कारण रातिको कठिन परिस्थितिमा पनि यात्रुको सकुशल उद्धार सम्भव भएको हो। उद्धार अभियानमा प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरू स्वयं स्थलगत रूपमा खटिएका थिए।
यसैबीच, जोखिमपूर्ण अवस्थाबारे प्रहरी र ट्राफिक प्रहरीले पटक–पटक सचेत गराउँदा पनि लापरवाहीपूर्वक सवारी चलाएर यात्रुको जिउधनलाई जोखिममा पारेको आरोपमा ती माइक्रोबसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ।
रोशी क्षेत्रमा बाढीले विपी राजमार्गमा बनाइएका अस्थायी डाइभर्सन बगाउन थालेपछि सोमबार साँझ ५ बजेदेखि कटुञ्जेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडकखण्डमा आवागमन पूर्णरूपमा बन्द गरिएको थियो। राजमार्ग अवरुद्ध भएपछि धुलिखेल, काभ्रेभञ्ज्याङ, मङ्गलटार र नेपालथोक क्षेत्रमा सवारीसाधन ‘होल्ड’ गरिएको जिल्ला ट्राफिक कार्यालय बनेपाले जनाएको छ।
प्रहरीले अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न तथा यात्रा गर्नै परे सडकको अवस्था बुझेर मात्र अघि बढ्न सर्वसाधारणलाई आग्रह गरेको छ।
वर्षेनि बाढीको चोट खेप्दै आएको विपी राजमार्गमा स्थायी संरचना निर्माणको काम भइरहे पनि अस्थायी डाइभर्सनकै भरमा यात्रा गर्नुपर्ने बाध्यता अझै कायम छ।

