धनकुटा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत इन्जिनियरसहित तीन जना कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा इन्जिनियर सुमन राई, लेखा अधिकृत ईन्द्रबहादुर कार्की र सबइन्जिनियर रविन श्रेष्ठ रहेका छन्। उनीहरूलाई ८५ हजार रुपैयाँ घुस लिएको अवस्थामा अख्तियारले सोमबार नियन्त्रणमा लिइएको हो।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ स्थित एक विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानी प्रक्रिया अघि बढाउन उनीहरूले सेवाग्राहीसँग विभिन्न बहानामा दुःख हैरानी दिँदै घुस मागेको उजुरी थियो।
उजुरीका आधारमा अख्तियारको टोलीले सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा राईलाई ललितपुरबाट पक्राउ गरेको हो। साथै, इटहरीस्थित अख्तियारको टोलीले कार्की र श्रेष्ठलाई क्रमशः धनकुटा र भोजपुरबाट नियन्त्रणमा लिएको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।
पक्राउ परेकाहरूबाट घुस रकम, तीन थान मोबाइल र अन्य कागजात बरामद गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

