काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)को साधारण सभा आगामी वैशाख २७ र २८ गते विराटनगरमा आयोजना हुने भएको छ। सोमबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय पारित गरेको हो।
यसअघि शुक्रबारका लागि बोलाइएको बैठक असन्तुष्ट पक्षले बहिष्कार गरेपछि स्थगित भई सोमबार पुनः बसेको थियो। बैठकले चारवर्षे पदावधि सकिएका २० जिल्लाका क्रिकेट संघको कार्यकाल जेठ मसान्तसम्म थप गर्ने निर्णय गरेको छ।
संघहरूले वार्षिक साधारण सभा सम्पन्न गरी २०८३ जेठभित्र निर्वाचन गर्नुपर्नेछ।
बैठकले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको आयव्यय पनि अनुमोदन गरेको छ। प्रस्तुत विवरणअनुसार लिगबाट कुल ४७ करोड ३६ लाख आम्दानी हुँदा २१ करोड ९६ लाख खर्च भई करिब २५ करोड ३९ लाख नाफा भएको छ। नाफाको आधा रकम प्रतियोगितामा सहभागी आठ टोलीलाई बाँडफाँट गरिएको छ।
साथै, क्यानले महिला क्रिकेटको विकासमा विशेष ध्यान दिने निर्णय गर्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को निर्देशनअनुसार वार्षिक बजेटबाट ५ लाख अमेरिकी डलर लगानी गर्ने जनाएको छ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको करार अवधि थपका लागि पहल गर्ने र हाल राष्ट्रिय खेलकुद परिषद् (राखेप) मातहत रहेको तल्लो मूलपानी क्रिकेट मैदान क्यानलाई हस्तान्तरण गर्न सरकारसमक्ष अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ।

